पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला शुरु

radionepal

काठमाडौं । तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० शनिबारदेखि काठमाडौमा शुरु भएको छ । 

प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्दै  नेपाली मौलिक गरगहनालाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन र विस्तारलाई सरकारले सहयोग पुर्याउने विश्वास दिलाउनुभयो ।

उहाँले कृषिप्रतिको सोचाइको मानसिकता बदल्नुपर्ने र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मन्त्रालयले कुनै पनि फाइल एक साताभित्र टुङ्ग्याइसक्ने नीति कडाइका साथ लागू गरिएको बताउनु भयो ।

नेपाल रत्न तथा आभूषण सङ्घद्वारा आयोजित उक्त प्रदर्शनीमा २६ ज्वेलर्स कम्पनीका सुनचाँदी, हीरा जवाहरात आदि बहुमूल्य धातु तथा रत्न पत्थर आदिका गहना समावेश गरिएको छ । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले रत्न तथा गरगहना निकासीजन्य वस्तुका रूपमा रहे पनि यसको कच्चा पदार्थ आयातमा सहुलियत र छुटको व्यवस्था नभएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती भइरहेको बताउनुभयो ।

आयोजक संस्था नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालका मौलिक र अत्याधुनिक गरगहनाबारे विस्तृत जानकारी गराई आन्तरिक तथा बाह्य बजार प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने प्रदर्शनीको उद्देश्य रहेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक गहनाप्रति ठूलो आकर्षण रहेको हुँदा न्यूनतम सुविधा र प्रोत्साहनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा रहेको रत्न तथा आभूषणबाट १५ प्रतिशतसम्म योगदान पुग्ने अपेक्षा गरिएको छ ।