पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा

radionepal

काठमाडौं । सरस्वती क्लबलाई बिहीबार १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । 

आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ । लिगमा अपराजित रहेको मनाङ ११ अंकमा दोस्रो स्थानमा छ । लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ । 

पाँचौ चरणसम्म आइपुग्दा मनाङ, मछिन्द्र र जावलाखेल युथ क्लब अपराजित छन् । आजको खेलमा सरस्वतीलाई पराजित गरेपछि मनाङलाई १ अंकले पछी पार्दै आर्मी शिर्ष स्थानमा पुगेको हो ।

लिगको दोस्रो खेलमा आर्मी मनाङसँग १–० ले स्तब्ध भएको थियो । पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० ले पाखा लगाएको थियो । आर्मीको जितमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे । 

अर्को खेलमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले नेपाल एपिएफ क्लबलाई ४–२ गोलले हराएको छ ।

पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक छ । संकटाका लागि अजयी मार्टिन्सले २ तथा लक्ष्मण रुचाल र कर्ण लिम्बुले गोल गरेका थिए । एपिएफका लागि नवीन लामा र आशिष लामाले गोल गरेका थिए ।