च्यासल युथ र पुलिस क्लबबीचको खेल बराबरीमा सम्पन्न
अजय बम । सहिद स्मारक ए डिभिजन लिगमा सन्तोष साउखलले एक सय गोल पुरा गर्ने कीर्तिमान बनाउँदा उनको टिम च्यासल युथ क्लव भने नेपाल पुलिस क्लवसँग बराबरीमा रोकियो ।
दशरथ रंगशालामा पुलिस विरुद्धको खेलमा सबैको नजर सन्तोषमाथि नै थियो । लिगका सुरुवाती दुई खेलमा तीन गोल गरेर शतकको नजिक पुगेका सन्तोष त्यसपछिका दुई खेलमा गोल विहिन हुन पुगे ।
चिसो मौसममा च्यासल पुलिस विरुद्ध उत्रदा खेलको पाँचौ मिनेटमा नै गोल खान पुग्यो । पुलिसका लागि निरकुमार राईले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए ।
तर खेलमा एक शुन्यले पछि परेको अवस्थामा सन्तोषले १७ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा मात्र पुर्याएनन् । ए डिभिजन लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी बने ।
यो गोल सन्तोष आफैका लागि पनि निकै विशेष थियो । त्यसैले पनि उनले गोल गरेपछि उनीमात्र होइन क्लवका समर्थक र खेलाडी निकै खुसी भए ।
तर खेलको ४० औं मिनेटमा च्यासलले फेरी गोल खायो । यसपटक पुलिसका लागि सुमन लामाले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । तर ५९ औं मिनेटमा फेरी सन्तोषले च्यासललाई बराबरीमा ल्याए ।