पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आर्थिक वृद्धि ६.५ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

विप्रेषण आप्रवाह, सेवा र कृषि क्षेत्रको उल्लेखनीय योगदानका कारण उच्च आर्थिक वृद्धि हासिल भएको नेपालको आगामी वर्षको आर्थिक वृद्धि घट्दो विप्रेषण आप्रवाह, जलवायु परिवर्तन र अनियमित मनसुनका कारण कृषि उत्पादकत्वमा पर्ने प्रभावले आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरिएको हो । 

बैङ्कले बिहिबार काडमाडौंमा सार्वजनिक गरेको ‘नेपाल विकास अद्यावधिक’ प्रतिवेदनमा अधिक पर्यटकको आगमन, नेपाल भ्रमण वर्ष २०२०, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रायः पूरा हुनका साथै ठूला होटल निर्माण, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग भएका नयाँ सम्झौतालाई भने अर्थतन्त्रका  सकारात्मक सूचकका रुपमा चित्रण गरिएको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले वास्तविक तथ्याङ्क सङ्कलन एवं प्रस्तुतिमा जोड दिँदै केन्द्रीय तथ्याङ्क विभागलाई राष्ट्रिय तथ्याङ्क केन्द्रका रुपमा सुदृढ तुल्याउनेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गरिने बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले विश्व बैंकजस्ता बहुपक्षीय संस्थालाई तथ्याङ्क सङ्कलन, प्रशोधन र विश्लेषणका निम्ति नेपालको जनशक्तिको विकासमा सघाउन आग्रह पनि गर्नुभयो । 

त्यस अवसरमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हाडाड जेर्भोसले तथ्य तथ्याङ्कको माग नीति निर्माणदेखि तल्लो तहसम्म अपरिहार्य बन्दै गएकाले सङ्घीयताको सफल कार्यान्वयनका निम्ति पनि त्यसको उपयोग वर्तमानमा अझ बढेको बताउनुभयो ।