पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सेज प्रयोगविहीन हुन नदिन सचेत हुनुपर्छः अर्थमन्त्री

काभ्रे । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्दा बनेपाको आइटी पार्क जस्तो प्रयोगविहीन हुने अवस्था आउन नदिन सबै सचेत हुनु पर्ने बताउनु भएको छ । 

अर्थमन्त्री खतिवडाले शनिबार पाँचखाल नगरपालिका ८ मा निर्माणाधीन सेजको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गर्नु भयो । 

भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले त्यसता संरचनाको प्रयोगका लागि सरकारलाई झक्झक्याउन पनि अर्थमन्त्री खतिवडाले आग्रह गर्नुभयो । 

मन्त्री खतिवडाले बनेपाको आइटी पार्कमा अर्बौं लगानी गरियो तर अहिले प्रयोगविहीन अवस्थामा छ, त्यो निकै दुःखलाग्दो विषय हो भन्नु भयो । 

मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उज्जवल रहेको बताउनुभयो । मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताउनु भयो । 

पाँचखालमा चालू आर्थिक वर्षमा १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा तीन करोडमा पर्खाल निर्माण भइरहेको छ । 

करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको ८ नम्बर वडाका वडाध्यक्ष पुष्कर ढकालले जानकारी दिनु भयो ।