पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भ्रमण वर्ष सफल पार्न मन्त्री भट्टराईद्वारा सहयोगको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्नका लागि आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ । 

आज मन्त्रालयमा आयोजित राजदूत र वैदशिक साझेदार संस्थाका प्रमुखहरुसँगको छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि राजदूतहरुलाई आग्रह  गर्नुभयो । 

मन्त्री भट्टराईले नेपालमा २०७२ को महाभूकम्पबाट भत्किएका सम्पदाहरुको दुई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको जानकारी दिनुहुदै सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो । 

मन्त्री भट्टराईले आगामी सन् २०२० मा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र सन २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भयो ।

उहाँले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सम्पन्न भई हाल  लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो । 

मन्त्री भट्टराईले अन्तरराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बताउनुभयो । 

छलफलमा सहभागी नेपाल स्थित विभिन्न देशका राजदूतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।