पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपनिर्वाचनको समीक्षासहितको प्रतिवेदन पठाउन नेकपाको निर्देशन

अर्जुन श्रेष्ठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपनिर्वाचन भएका सबै जिल्ला र तहको समीक्षा सहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको नेकपा सचिवालय बैठकले चुनावी समिक्षा प्रतिवेदन पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 

आगामी बैठकले उपनिर्वाचन सम्बन्धमा तल्ला कमिटीको प्रतिवेदनको समिक्षा गर्ने, पार्टीको संगठनात्मक एकीकरणका बाँकी कामहरुको टुङ्गो लगाउने लगायत पार्टीको समग्र कार्ययोजना तय गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
 
बैठकले उपचारत प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा आएको तीव्र सुधारमा प्रशन्नता व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । 

प्रधानमन्त्रीको मृगौला प्रत्यारेपणका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको उपचारपछि डाक्टरको सल्लाह अनुसार के गर्ने भन्ने निर्णय लिइने जानकारी गराउनुभयो ।