पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिँचाइ आयोजना सम्पन्न भएपछि कृषक हर्षित

नवलपरासी । नवलपरासीमा तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।

प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि खेतीपातीका लागि सहज रुपमा सिँचाइ उपलब्ध हुने भएकाले उनीहरू हर्षित भएका हुन् । 

सिँचाइ आयोजना क्षेत्रमै नदी कटान नियन्त्रणका लागि तटबन्ध समेत गरिएपछि यहाँका कृषकले राहत महसुस गरेका छन् । 

प्रदेश नं ५ सरकारको सात करोडको लागतमा साँढे दुई वर्षमै तुरिया नदीमा सिँचाइ आयोजना निर्माण र तटबन्ध गरेको हो । 

यो आयोजनाबाट रामग्राम–१५, १६ र १० का दुई हजार बढी कृषक लाभान्वित भएको तुरिया सिँचाइ उपभोक्ता समितिका सचिव राममिलन शहानीले बताउनुभयो । आयोजनाबाट शुक्रौली, हुकई र लङ्कहवासहित आसपासको करीब १०० बिघा जमीन सिञ्चित भइरहेको छ । 

यसअघि सिँचाइको असुविधाको कारण यहाँका कृषक आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो ।

तुरिया नदीको कटान रोक्न सिँचाइ आयोजनाको दुवैतर्फ हाललाई २००–२०० मिटर तटबन्ध निर्माण गरिएको छ । यसलाई क्रमशः विस्तार गर्दै जाने आयोजनाले जनाएको छ ।