पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाको राजगढमा स्ट्रबेरी खेती शुरु

झापा । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो ।

गत वर्ष चार कठ्ठामा गरिएको स्ट्रबेरी खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघामा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताउनुभयो । 

उहाँका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोपण भइरहेको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरी खेतीको परीक्षण झापामै सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती शुरु गर्न लागिएको उहाँले बताउनुभयो । 

कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्ममा तीन लाख बिरुवा लगाइसकिएको उहाँले बताउनुभयो ।