पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिला भलिबल टोलीको पहिलो अन्तराष्ट्रिय सफलता

अजय बम । अन्तराष्ट्रिय सहभागिताको २० वर्षे इतिहासमा नेपाली महिला भलिबल टोलीले पहिलो अन्तराष्ट्रिय सफलता आर्जित गरेको छ । त्यो पनि एसियाली स्तरको । 

बिहीबार माल्दिभ्सलाई पराजित गरेपछि २० वर्षको उपाधि भोक अन्त्य गरेको नेपालले आसन्न दक्षिण एसियाली खेलकुद सागका लागि पनि मनोबल उच्च पारेको छ ।

एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपल्ट आयोजना भएको हो । एसियाका निम्न वरियताका टिमबीच भएको प्रतियोगितामा नेपालको उपाधि यात्रा अपराजित मात्र होइन एउटा सेट पनि गुमाउनु परेन ।

अफगानिस्तानमाथिको जितसँगै सुरु भएको नेपालको यात्रा किर्गिस्तान, बंगलादेश र माल्दिभ्स हुँदै फाइनलमा पुनः माल्दिभ्सलाई हराएर सम्पन्न भयो । 

सन् १९९९ मा नेपाली महिला टोलीले पहिलोपल्ट अन्तराष्ट्रिय प्रतियोगिता घरेलु कोर्टमै खेलेको थियो । आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले काश्य जित्यो । 

सन् २००६ मा श्रीलंकामा भएको दशौं साग र सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पनि नेपालले काश्य जित्यो । सन् २०१० मा बंगलादेशमा भएको ११ औं सागमा महिला भलिबल समावेश गरिएको थिएन । 

नेपालले सन् २०१७ मा एसियाली भलिबल च्याम्पियनसिपको छनोट खेलेको थियो र असफल भएको थियो । त्यसबाहेक दक्षिण एसियाली स्तरका प्रतियोगिता र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल पनि भइरहेकै थिए । 

नेपाली कप्तान अरुणा शाहीका लागि पनि यो प्रतियोगिता अविष्मरणीय रह्यो ।

मंसिर १५ देखि २४ सम्म सागको १३ औं संस्करण नेपालमै आयोजना हुँदैछ । यस प्रतियोगितामा सहभागी भएकामध्ये बंगलादेश र माल्दिभ्ससँग नेपालले तीन सातापछि पनि खेल्नुछ । 

त्यसबाहेक भारत, श्रीलंका र पाकिस्तान छन् जो एसियाकै पावर हाउस टिमहरु हुन् । सेन्ट्रल जोन उपाधिले नेपाली टीमको आत्मविश्वास उच्च बनाउनेछ । 

दक्षिण एसियाली खेलकुदमा काश्यबाट माथिको उपाधि जित्न नसकेको नेपालले अघिल्ला प्रतियोगिताभन्दा आफूलाई सुधार गर्न भारत र श्रीलंकालाई पराजित गर्नुपर्छ । 

घरेलु कोर्टमा युवा खेलाडीको जोशले सागमा ठूलो उपलब्धि नआउला भन्न सकिन्न ।