पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘नेपाली भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानी लगायतका भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।  
   
काँङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि रहेको बताउँदै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा आफूहरुलाई मान्य नहुने दोहोर्याउनुभयो । 

प्रवक्ता शर्माले सीमा विवाद सम्बन्धमा राष्ट्रिय एकता निर्माण भएकोले परिणाममुखी पहल गर्न सरकार सक्षम हुने पार्टीको विश्वास रहेको बताउनुभयो ।     

प्रवक्ता शर्माले निर्वाचन आचारसंहिता लागू भएपछि प्रदेश प्रमुख बर्खास्त गर्ने र रिक्त पदसमेत पूर्ति गर्न नपाइने प्रस्ट व्यवस्था उल्लेख हुँदाहुँदै प्रदेश प्रमुखहरु बर्खास्त प्रकरणमा निर्वाचन आयोगले एकाङ्गी धारणा सार्वजनिक गर्नु आपत्तिजनक भएको टिप्पणी गर्नुभयो ।