पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको फाइनलमा

अजय बम । घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ । 

सरस्वती चौधरीको उच्च प्रदर्शनमा नेपालले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

एकपक्षीय बनेको खेलमा नेपालले पहिलो सेटमा २५–७ को सहज जित निकाल्यो । सरस्वतीले उच्च प्रदर्शन गर्दा घरेलु टोलीका खेलाडी निरिह बनेको थियो । पहिलो सेटमा सरस्वतीले ७ अंक जोडेकी थिइन् । 

दोस्रो सेटमा प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई विश्राम दिएपनि प्रतिभा माली, कप्तान अरुण शाही, सुनिता खड्का र निरुता ठगुन्नाले उच्च प्रदर्शन गर्दा नेपाल २५–६ को सेटमा विजयी हुन सफल भयो । 

तेस्रो सेटमा पनि नेपालीले टोलीले उच्च प्रदर्शनलाई निरन्तरता दिदै खेल २५–६ ले अफ्नो पक्षमा पार्दै ३–० को सोझो सेटमा विजयी हुन सफल भयो । 

च्याम्पियनसिपको तीन खेलमा नेपालले कुनै पनि सेट गुमाएको छैन । जितसँगै अपराजित रहेको नेपालले ३ खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ८ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । 

पराजित बंगलादेश ३ अंकसहति चौथो तथा ४ अंक जोडेको किर्गिस्तान तेस्रो स्थानमा छ । अफगानिस्तानले कुनै अंक जोड्न सकेन । 

राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले बिहीबार उपाधिका लागि खेल्नेछन् । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफका लागि बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।