पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तह निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता 

radionepal

अच्युत अर्याल । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर १४ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनको लागि भोलि हुने मनोनयन दर्तामा उत्साहपूर्ण सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।

प्रमुख आयुक्त थपलियाले भोलि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तहको सदस्य पदमा उम्मेदवारहरुले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म आयोगले तोकेको ढाँचामा मनोनयनपत्र दर्ता गर्नुपर्ने बताउनु भयो । 

उहाँले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्सनीय रुपमा सम्पन्न गर्ने गराउने कार्यमा सबैको सहयोग र सहभागितको लागि समेत अनुरोध गर्नुभएको छ ।

मनोनयनपत्रका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा अध्यक्ष पदको लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रमुख, उपप्रमखु र अध्यक्ष, उपाध्यक्षको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, दलका तर्फबाट उम्मेदवार हुनका लागि दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण सहित प्रस्तावक र समर्थकको नाम उल्लेख गर्नुपर्ने छ ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि, कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा पेश गर्नुपर्ने र वडा अध्यक्ष पदको लागि १ हजार र प्रमुख एवं उपप्रमुख र अध्यक्ष एवं उपाध्यक्षका लागि १ हजार ५ सय घरौटी पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।