पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत् विवाद समाधान गर्नुपर्छ’

सुरेन्द्रमणि त्रिपाठी । नेपाल कम्युनिस्ट पाटी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत कालापानी क्षेत्रको सीमा विवाद समाधान गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा नीति तथा अनुसन्ंधान प्रतिष्ठानले आयोजना गरेको नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकासित गरेको नक्सा विषयक कार्यक्रममा वरिष्ठ नेता नेपालले नेपालको भुभाग लिपुलेकलाई लिएर भारत र चीनबीचको सम्झौताका सम्बन्धमा समेत भारत र चीनसँग कुरा उठाएर समस्याको समाधान गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनालले अहिलेको परिस्थतिलाई अवसरका रुपमा लिएर सीमा समस्या समाधानका लागि अगाडी बढ्दा कालापानी लगायत अन्य सीमा समस्याहरुको समेत समाधान खोज्न सकिने बताउनुभयो ।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले भारतसँग उच्च स्तरमा कुरा चलाएर सीमा समस्याको समाधान गर्दै कालापानी क्षेत्रबाट भारतीय फौज हटाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले कालापानी हाम्रै भएकाले यसमा सन्देह गर्नुपर्ने आवश्यकता छैन भन्दै सरकारलाई सबैको साथ र समर्थन पनि रहेकाले अब उच्चस्तरबाट यसको हल खोज्न ढिलाई गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सि.पी गजुरेलले कालापानी क्षेत्र नेपालकै भएको र त्यसको यथेष्ठ प्रमाणहरु समेत रहेकाले अब ढिलो नगरी कूटनीतक रुपमा समाधानको प्रयास गर्नु जरुरी रहेको बताउनुभयो ।

त्यस अवसरमा समाजबादी पार्टीका नेता नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, राप्रपाका नेता भुवन पाठक वरिष्ठ अधिवक्ताहरु डा.युवराज संग्रौला, विश्वकान्त मैनाली लगायतले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको र अहिले यस विषयमा राष्ट्रिय सहमति देखिएकाले सीमा समस्या समाधानका लागि सरकारलाई एउटा महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो ।