पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फौजी किराले धान सखाप पारेपछि किसान चिन्तित

बाँके । वर्षभरिको आयस्रोतका रूपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिबार समस्यामा परेका छन् ।

“हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको छ”, बाँके डुडुवा गाउँपालिका–६ का किसान रेखाउल्ला खाँले पीडा पोख्नुभयो । 

अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान पुर्याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगको गुहार मागेका छन् । 

केहि दिनअघि नेपालगञ्ज आउनुभएका प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल र सङ्घीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको माग गरेका थिए । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दियाको २ हजार हेक्टर धानबालीलाई क्षति पुर्याएको बताउनुभयो ।

केन्द्रका अनुसार बाँके र बर्दियाका २ हजार घरधुरीले लगाएको धान नष्ट हुदाँ किसानहरु समस्यामा परेका हुन ।