पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, र स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदको उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

उपनिर्वाचन कार्यक्रम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र सोही दिन दिउँसो साँढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, यही कार्तिक २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ देखि दिउँसो साँढै १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, कार्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडाका ४८ रिक्त पदका लागि हुने उपनिर्वाचनका निम्ति कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।