पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चितवन राइनोजद्वारा विजयी शुरुवात

अजय बम । वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । 

बुधबार उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । ९३ रनको लक्ष्य चितवनले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

चितवनको जितमा युवा खेलाडी सुमन खतिवडाले सर्वा्धिक २९ रनको योगदान गरिन । त्यस्तै ओपनर काजल श्रेष्ठ ११ र कञ्चन श्रेष्ठ ६ रनमा आउट भए । रितु कनौजिया १४ रनमा आउट भइन् । प्यारी चौधरीले २४ रनमा अविजित रहिन् । 

काठमाडौंका लागि तीव्र गतिकी बलर इश्वरी विष्टले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौं २० ओभरमा ९२ रनमा अल आउट भएको थियो । ओपनर रश्मी शर्मा चौलागाईंं ३४ रनमा आउट भएसँगै काठमाडौंको विकेट निरन्तर गुम्दा ठूलो योगफल बनाउन चुकेको हो ।

सरस्वती कुमारीले १५ रन जोड्नि । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । 

चितवनका सन्तोषी चौधरीले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । रेखा रावल, कविता गौतमको नाममा समान २ विकेट रह्यो । रितु कनौजियाले १ विकेट लिइन् । 

काठमाडौंले विहीबार पोखरा पल्टनसँग खेल्ने छ । त्यस्तै चितवनले शुक्रबार ललितपुर फाल्कोन्ससँग प्रतिस्पर्धा गर्ने छ ।