पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी व्यापक    

radionepal

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीन फिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारी तीव्र पारिएको छ । 

तयारीका लागि राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । 

यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोड लगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरिएको छ ।

काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ । 

अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिनुभएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताउनुभयो ।