पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राज्यको आफ्नै रेडियो हुनुपर्छः नेतृ भुसाल

अर्जुन श्रेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पेशागत महासंघ इञ्चार्ज पम्फा भुसालले राज्यको आफ्नै सञ्चारमाध्यम हुनुपर्ने भएकाले रेडियो नेपाललाई बलियो र प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपालले दशैं, तिहार, छठ तथा नेपाल सम्बत्को अवसरमा आज सिंहदरवारमा आयोजना गरेको शुभकामना आदान– प्रदान कार्यक्रममा नेतृ भुसालले राज्यका अन्य संघसंस्था र संगठन जस्तै जनतामा सेवा प्रवाह र सञ्चारमा पहँुच प्रदान गर्न रेडियो नेपालजस्तो राज्यको सञ्चार माध्यम आवश्यक रहेको बताउनुभयो । 

उहाँले सञ्चारका क्षेत्रमा राज्यले दिएको छुटका कारण एउटै समाचार अनेक थरी रुपबाट आउने गरेको अवस्थामा सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गरेर राष्ट्रिय एकता कायम राख्न राज्यको आफ्नै सञ्चार माध्यम आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् पेशागत महासंघका बरिष्ठ उपाध्यक्ष प्रेमल कुमार खनालले समाजबाद उन्मुख राज्यका लागि आफ्नै स्वामित्वको सञ्चारमाध्यम आवश्यक हुने भएकाले रेडियो नेपालजस्तो सरकारी सञ्चार माध्यमलाई बलियो र स्थापित बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सरकारले रेडियो नेपालका लागि पर्याप्त बजेट दिएर प्रशारणलाई प्रभावकारी बनाउन सहयोग गर्नु पर्ने  वा स्वतन्त्र रुपमा अघि बढ्न दिनु पर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय कर्मचारी महासंघ संयोजक दयाराम बस्यालले बलियो संस्थाका रुपमा रेडियो नेपालले दुनियाँ बदल्ने काम गर्नुपर्ने र यसका लागि  राज्यले लगानी गर्नुपर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीले र नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपालका अध्यक्ष राजेश श्रेष्ठले कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउँदै राज्यको स्वामित्वमा रहेको रेडियो नेपालको रुपान्तरण गर्न सरकारले चासो देखाउनु पर्ने बताउनुभयो ।