पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपल्लो डोल्पामा मोबाइल टावर सञ्चालन

डोल्पा ।  उपल्लो डोल्पामा नमस्तेको मोबाइल टावरमा सञ्चालनमा आएको छ । शे–फोक्सुण्डो गाउँपालिका–३ अन्तर्गत साल्दाङमा निर्माण गरिएको मोबाइल टावर सञ्चालनमा आएको हो ।

मोबाइल टावर सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रसमेत रहेको साल्दाङसहितको मास, कराङ, नाम्दो, धुम्दार, रापा, तिलिङलगायतका विकट बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् ।

टावर सञ्चालनमा आएसँगै गाउँपालिका १, २, ३ र ४ नं वडाका करीब तीन हजार २०० जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष टासीटुण्डुप गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाको पहलमा टावर निर्माण भएपछि सर्वसाधारणको वर्षौँदेखि घरमै बसीबसी मोबाइलमा कुरा गर्ने सपना साकार भएको हो ।

यसअघि गाउँमा मोबाइल सेवा नहुँदा भिस्याट टेलिफोनबाट एउटा लाइनबाट प्रतिमिनेट रु पाँच तिरेर कुरा गर्दैआएका स्थानीय घरबाटै देश विदेशमा कुरा गर्न पाएपछि खुशीले दङ्ग परेका छन् । भौगोलिक कठिनाइका कारण एक वडाबाट अर्को वडामा पुग्न दुई दिनसम्म लाग्ने भए पनि अब सानोतिनो कामका लागि आफैँ नकुदेर फोनबाट समस्या हल गर्न सकिने स्थानीय सोनामफुञ्जे गुरुङले बताउनुभयो ।

“सञ्चारको भरपर्दो साधन नहुँदा बिरामीलाई उद्धार गर्नसमेत समस्या हुन्थ्यो, उद्धारका लागि सम्पर्क नहुँदा अकालमै ज्यानसमेत गुमाउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “अब गाउँमै टावर बनेकाले बिरामीको समयमै उद्धार हुनेछ, घरबाटै जतिखेर पनि देश विदेशमा रहेका आफन्तसँग कुरा गर्न सकिन्छ, फोनमा कुरा गर्नकै लागि घण्टौँ लाइन बस्नुपर्ने, चर्को शुल्क बुझाउनुपर्ने दिन पनि सकिए ।” रासस