पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

योग शिक्षा प्रवर्द्धनका लागि नगरपालिकाको अभियान

radionepal

चिरञ्जिवी मास्के, दोलखा । व्यस्त जीवन शैलीका कारणले मानिसहरुमा बिभिन्न खाले शारीरिक समस्या देखिन थालेपछि योग शिक्षाको प्रवद्धन गर्न भीमेश्वर नगरपालिकाले विशेष अभियान सुरु गरेको छ । 

अभियानको पहिलो चरणमा भीमेश्वर नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहकार्यमा आयुर्वेदमा आधारित स्वस्थ जीवन शैली तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम सञ्चालन गरेको छ । 

कार्यक्रममा सकारात्मक सोचको विकास, प्रेसर, सुगर, थाईराईट जस्ता नसर्ने दीर्घ रोगको व्यवस्थापन र योग शिक्षाको बारेमा विशेष जानकारी गराईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटका निमित्त प्रमुख विमलकुमार श्रेष्ठले बताउनुभयो । 

मानिसहरुमा सामाजिक, आर्थिक तथा व्यवसायीक बोझ बढ्दै गएपछि मानसिक समस्याहरु देखिने तथा व्यस्तताका कारण अत्याधिक प्रयोगहुने तयारी खाद्य बस्तुको प्रयोगले बिभिन्न रोगहरु देखिने क्रम बढ्दै गएकोले यस्ता समस्या प्रति सचेत हुदै समयमै यसको नियन्त्रणको प्रयासमा सबैको सक्रियता बढाउन भीमेश्वर नगरपालिकाले स्वस्थ जीवन शैली तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम सुरु गरेको र यो कार्यक्रमलाई निरन्तरता दिईने नगरप्रमुख भरतबहादुर केसीले बताउनु भयो । 

अभियानको पहिलो चरण अन्र्तगत सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा पतंजलि योग समिति नेपालका योग प्रशिक्षक अच्युत अर्यालले सकारात्मक सोच, तनाव व्यवस्थापन र योग शिक्षा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर मधुर वस्नेतले मनोविज्ञान र आत्महत्याका कारणहरु तथा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सकारात्मक सोचको विकासको बारेमा प्रशिक्षण दिनु भएकोथियो । 

कार्यक्रममा भीमेश्वर नगरपालिकाको नगरकार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीहरु गरी ६५ जनाको सहभागिता रहेको थियो ।