पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर नरहेको सरकारद्वारा जानकारी

radionepal

काठमाडौँ - सरकारले सरूवा ज्वरो डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर नरहेको जनाएको छ ।  यही भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले डेंगु ज्वरोका संक्रामित विरामी बढिरहेको भएपनि सरकारी नियन्त्रणभन्दा बाहिर नगएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले रोग नियन्त्रणका लागि सरकारले विभिन्न गैह्रसरकारी संघ–संस्था एवं नागरिकको तहबाट आवश्यक सहयोग लिई रहेको र छिट्टै नियन्त्रणमा आउने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले अर्को एक प्रश्नमा सरकारले पशुपति, चलचित्र हल लगायतका ठाउँमा राष्ट्रिय गान बजाउने सम्वन्धमा कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्र गान नेपालीको आत्म स्वाभिमान र राष्ट्रिय गौरवको विषय भएको हुनाले यसको प्रयोग स्वभाविक लाग्ने ठाउँमा मात्रै हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
सरकारले काठमाडौ उपत्यकामा मनाईने साँस्कृतिक पर्व ईन्द्रजात्राको सञ्चालन र व्यवस्थापन कालागि अक्षयकोषको स्थापना गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको यही भदौ २२ गतेको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ईन्द्रजात्राको सञ्चालन एवं व्यवस्थापनका लागि ५ करोड रूपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अक्षयकोषका लागि संघीय सरकारले एक करोड ५० लाख रूपैयाँ, प्रदेश नं. ३ ले एक करोड रूपैयाँ, काठमाडौ महानगरपालिकाले २ करोड रूपैयाँ र गुठी संस्थानले ५० लाख रूपैयाँ उपलब्ध गराउने मन्त्री बास्कोटाले बताउनुभयो ।

सरकारका प्रवक्ता मन्त्री बास्कोटाले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले भोजपुरमा नेत्रविक्रम चन्द विप्लव समुह संगको भिडन्तमा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईलाई सहिद घोषणा गरी उनको परिवारलाई राहत स्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने, गोरखा, कञ्चनपूर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभ्रेपलाञ्चोकमा नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणीको पदपुर्ती नहुँदा सम्मका लागि राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीको पद सिर्जना गर्ने, मूख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ का कामु सचिव तोयनारायण ज्ञवालीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने, हुलाक सेवा विभाग अन्तर्गतको अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक २०७६ श्रावण देखि लागु हुनेगरी बृद्धि गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले एशियाली विकास बैंकबाट फुड सेप्टी एण्ड एग्रीकल्चर कमर्सियलाईजेशन प्रोग्राम ( Food Safety and Agriculture Commercialization Program )का लागि ५ अर्व ७५ करोड तथा रूरल इन्टरप्राईज फाईनन्सिङ् प्रोजेक्ट (Rural Enterprise Financing Project ) का लागि ५ अर्व ७५ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्वन्धमा वार्ता गर्न अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गर्ने, विशेष अनुदान सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७६, र समपुरक अनुदान सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०७६ स्वीकृत गर्ने, उर्जा दक्षता संरक्षण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडतालन गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मन्त्रीपरिषद् बैठकले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय मातहतको जलश्रोत तथा सिंचाई विभाग अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रम तथा परियोजनाका लागि ३ सय ६० वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ५६ वटा, वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि २३ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चिालित नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ वटा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका परियोजना एवं कार्यक्रमका लागि ५८ वटा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना हरूका लागि ६५ वटा विभिन्न श्रेणीका राजपत्राङ्कित पदका दरवन्दीहरू स्वीकृत गरेको छ ।