पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वित्तीय संस्था सञ्चालकको योग्यतामा नयाँ नियम सिफारिस

अर्जुन श्रेष्ठ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’(वाफिया) लाई संशोधन गर्न बनेको विधेयकले बैंक तथा वित्तीय संस्थाको सञ्चालकहरुको कार्य अवधि, उमेर हद र योग्यतामा नयाँ नियम सिफारिस गरेको छ । 

सरकारले संघीय संसद्मा दर्ता गरेको विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकको कार्य अवधि दुई कार्यकालसम्म मात्र कायम रहने, बैंक सञ्चालकहरुको न्युनतम योग्यता स्तातक हुनुपर्ने लगायत उमेर हद समेत तोकिएको छ । 

विधेयकले सञ्चालकको कार्य अवधि बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहने व्यवस्था गरेको छ । 

प्रस्तावित विधेयकमा केन्द्रीय बैंकको स्वीकृति वा सहमतिमा मात्रै बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने व्यवस्था समेत राखिएको छ ।

त्यसै गरी विधेयकमा ‘घ’ वर्गका वित्तीय संस्थाले ५० प्रतिशत शेयर सदस्यलाई दिनुपर्ने,  प्रदेश सरकारले ऋणपत्र बिक्री गर्न पाउने, बैंक तथा वित्तीय संस्थाको सुधार र पुनः संरचनाका लागि वित्तीय स्थायित्व कोष गठन गर्ने लगायतका व्यवस्था समेत राखिएका छन् ।