पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुक्त हलिया समाज कञ्चनपुरको अध्यक्षमा पुनः लुहार चयन 

radionepal

हरिश चन्द्र बाग, कञ्चनपुर ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरको अध्यक्षमा पुनः शिवी लुहार चयन हुनु भएको छ । ११ औं हलिया मुक्ति दिवसको अवसरमा आयोजित छैठौ अधिवेशनको बन्दसत्रबाट लुहारको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरको उपाध्यक्षमा नाना राम कोली, सचिवमा उत्तम ओड र कोषाध्यक्षमा लक्ष्मी सुनार सेराला चयन हुनुभएको छ । जिल्ला समितिमा सबै स्थानीय तहबाट सदस्य चयन गरिएको छ । जसमा बल बहादुर चुनारा, गंगादेवी राना, देवी सुनार, शान्तिदेवी कामी, वसन्ती देवी सुनार, जोग सुनार र जानकी ताम्रकार सदस्य रहनु भएको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै मुक्त हलियाको समस्या समाधानका लागि सरकार लागिपरेको र मुक्त हलिया पुनस्र्थापनलाई पूर्णता दिइने बताउनु भयो । समाजका अध्यक्ष शिवी लुहारको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्व सभासद् हरी श्रीपाइली, राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष ईश्वर सुनार लगायतले मुक्त हलिया पुनस्र्थापन कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सरकारले २०६५ भाद्र २१ गते हलिया मुक्तिको घोषणा गरेको दिनलाई मुक्ति दिवसका रुपमा मनाउने गरिएको छ ।