पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने  

radionepal

भ्लाडिभोस्टक  - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ ।    
    
रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुग्नुभएको छ । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरुबीच आर्थिक साझेदारी प्रबद्र्धनका विषयमा छलफल हुने गर्दछ ।    
    
रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।    
    
राजनीतिक रुपमा रुस र भारतबीच कुनै मतभेद नरहेको बताउँदै वल्र्ड इकोनोमी इस्टिच्यूटका विश्लेषक अलेक्सी कुप्रियानोभले दुबै नेताबीच आर्थिक विषयमा छलफल हुने बताउनुभयो ।    
    
उहाँले रुसको पूर्वतर्फ प्रशान्त क्षेत्रमा चीन बाहेकका मुलुकको पनि लगानी भित्र्याउन रुस इच्छुक देखिएको बताउनुभयो । यस क्षेत्रमा भारतीय लगानीको सम्भावना पहिल्याउन दुबै नेताबीच छलफल हुन सक्छ, उहाँले भन्नुभयो ।    
    
सम्मेलनअघि मोदी र पुटिनले जेज्दा शहरको भ्रमण गरी त्यहाँका उद्योगको स्थलगत जानकारी लिनुहुनेछ । उहाँहरु दुबैले एकअर्कालाई सन् २००१ देखि नै चिन्नुहुन्छ ।    
    
रुसी मिडियालाई दिनुभएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुबै देशबीच विगत लामो समयदेखि विशेष सम्बन्ध रहेको बताउनुभएको छ ।    
दुबै मुलुकबीच सन् २०१८ मा करिब ११ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो ।    
    
भारतले गत वर्ष रुसबाट ५ अर्ब अमेरिकी डलरमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली गरेको थियो ।    
रासस/एएफपी