पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भिडियो कन्फ्रेन्सिङबाट पनि सरकारको बैठक बस्न सक्ने

केशव ढुंगाना । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर जानुभएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर जानुभएको बताउनुभयो । 

सोही क्रममा मन्त्री बाँस्कोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गराउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको समेत उल्लेख गर्नुभयो । 

मन्त्री बाँस्कोटाले नेपालमा पुनः राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । 

सरकारले प्रधानमन्त्री कुनै काम विशेषले स्वदेश वा विदेशको भ्रमणमा रहनु भएको अवस्थामा समेत भिडियो कन्फ्रेन्सिङ लगायतका सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था मिलाएको छ । 

यही भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहनुभएको अवस्थामा समेत भिडियो कन्फरेन्सीङ् लयायतका सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था थप गरिएको जानकारी दिनुभयो । 

यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका विशिष्ट श्रेणीका सचिवहरूको सरूवा गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले काठमाडौ–तराई द्रुतमार्ग आयोजनाको प्रस्तावित खण्ड रेखाङ्कन परिवर्तन गर्न स्वीकृति दिने, नेपालका विकास साझेदार हरूबाट प्रस्तावित करिब ११ अर्ब रुपियाँ अनुदान सहायता स्वीकार गर्ने र विभिन्न २१ वटा हिमाली जिल्लामा सञ्चालित अधुरा आयोजनाका लागि थप रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने लगायतका निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।