पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बेसहाराको सहारा ‘मेरी आमा’

भजनी, -अभिभावक गुमाएका अनाथ, असहाय, बेसहारा बालबालिकाका लागि ‘मेरी आमा’ नामक संस्था सहारा भएको छ । कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा सञ्चालन भएको उक्त मेरी आमा अनाथाश्रममा आमाबुबा गुमाएका सडक बालबालिका, होटलमा श्रम गरिरहेका बालबालिकालगायत कसैको सहाराको पर्खाइमा रहेका बालबालिकाको सहारा २६ वर्षीया दिव्या चौधरी ‘प्रयासी’ प्रेरणाको स्रोत बन्नुभएको छ ।

उहाँले अनाथ, असहाय बालबालिकाका लागि सहारा दिने भन्दै अनाथाश्रम खोलेको बताउनुभयो । साहित्य क्षेत्रमा राम्रो उचाइमा पुगेकी दिव्याले टीकापुर नगरपालिका वडा नं २ स्थित कालिका आधारभूत विद्यालयको भवनमा आश्रय लिई अनाथ बेसहारा बालबालिकाको लालनपालन, भरणपोषण तथा शिक्षा–दीक्षा दिँदै आउनुभएको छ । अभिभावक नभएका, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताबाट वञ्चित भई भौँतारिरहेका बालबालिकालाई आश्रय दिने काम दिव्याले गर्नुभएको छ । 

विसं २०७६ वैशाख १८ गते एक कार्यक्रमको आयोजना गरी शुरु भएको ‘मेरी आमा’ अनाथाश्रममा हालसम्म नौ बालबालिकाले आश्रय लिइरहेका छन् । उनीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत सबै हेरचाह दिव्याले गर्नुभएको छ । बिहानै सबै बालबालिका योगाभ्यासमा सहभागी हुन्छन् । योगपश्चात् दिव्या आफैँले बालबालिकालाई नुहाइदिने, लुगा फेरिदिने काम गर्नुहुन्छ । उनीहरू त्यहीँ रहेको कालिका आधारभूत विद्यालयमा ती बालबालिका अध्ययन गरिरहेका छन् ।

राजनीतिक क्षेत्रमा समेत सक्रिय रहनुभएकी चौधरीले आफ्नो राजनीतिक मोह र व्यक्तिगत स्वार्थका लागि नभई कसैको भविष्य निर्माण गर्न आफूले गर्नसक्ने मानवीय व्यवहारलाई मात्र अगाडि सारेको बताउनुभयो । कैलारी गाउँपालिका–१ गदरियामा जन्मी टीकापुर नगरपालिका–१ राजीपुरमा स्थायी बसोबास गर्दै आउनुभएकी चौधरीका श्रीमान् कलाकार समेत हुन् । श्रीमान्को साथ, सहयोग र समर्थनले मात्र आफू लक्ष्य हासिल गर्न सफल भएको बताउँदै चौधरीले आश्रममा आश्रय लिइरहेका बालबालिकालाई आफ्नो खुट्टामा उभिन नसकुञ्जेलसम्म रेखदेख तथा पालनपोषणको जिम्मा लिने बताउनुभयो ।