पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित गरेको छ । 
समितिको आज बसेको बैठकले विधेयकमाथिको दफाबार छलफलका क्रममा उठेका विषयहरु समेटेर तयार पारिएको प्रतिवेदन सहित विधेयक पारित गरेको हो । 
विधेयकमा राष्ट्रिय परिचयपत्र नागरिकताको आधारमा प्राप्त गर्न सकिने, राष्ट्रिय परिचयपत्रमा देखिने र नदेखिने गरी दुई प्रकारका व्यक्तिका व्यक्तिगत सूचना राखिने र परिचयपत्रमा भण्डार गरिएका तथ्याङ्क सम्बन्धित व्यक्तिले हेर्न पाउने व्यवस्था गरिएको छ । 
यस्तै, परिचयपत्रमा रहेको वैयक्तिक सूचनाको उपयोग गोपनियता कायम रहने गरी सरकारको पूर्ण स्वामित्वमा रहेका सार्वजनिक निकायहरुले उपयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । 
विधेयकले सबै नेपालीका लागि विशेष नम्बरसहितको राष्ट्रिय परिचयपत्र र गैरआवासीय तथा विदेशीका लागि भने अवधि खुल्ने गरी छुट्टै परिचयपत्र दिन सक्ने व्यवस्था गरेको छ । 
विधेयकमा यसअघिको व्यक्तिगत घटना दर्ता सम्बन्धी ऐन खारेज गरी पञ्जीकरण सम्बन्धी सम्पूर्ण काम यसै ऐन अन्तर्गत हुने व्यवस्था गरिएको छ । 
अर्जुन श्रेष्ठ, रेडियो नेपाल