पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र भारतले बलियो आर्थिक साझेदारी गर्न लागेका छन् : परराष्ट्रमन्त्री ज्ञवाली

radionepal

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ । 
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताउनुभयो । 
मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५÷६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताउनुभयो ।  
नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताउनुभयो । 
मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्वौं रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिनुभयो ।   
पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजनाहरु अघि बढेको उल्लेख गर्दै उहाँले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिनुभयो ।
नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले भन्नुभयो । 
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल र भारतबीचका राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक सम्बन्धमध्ये आर्थिक सम्बन्ध महत्वपूर्ण हुने र नेपालको व्यापार घाटा कम गर्दै लैजानका लागि भारतसँग सहयोग र सद्भावना लिनुपर्ने बताउनुभयो । 
नेपाली काँग्रेसका नेता डा. रामशरण महतले भारतको बाटो भई ९० प्रतिशतभन्दा बढी सामान नेपाल आउने गरेको उल्लेख गर्दै भारतबाट धेरै लगानी होस्, प्रविधि आओस् र पर्यटक धेरै आउन् र नेपाली उत्पादन पनि भारत जाने वातावरण बनोस् भन्नुभयो । 
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारत सहयोगमा वीरगञ्जमा अन्तर्राष्ट्रिय जाँच चौकी (आइसिपी) उद्घाटन भएको, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएकोे र अरुण तेस्रोको निर्माणले गति लिएको बताउनुभयो ।
रासस