पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निजामति विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।
समितिमा आज कर्मचारी नेतृत्वको परीक्षण, व्यवस्थापन परीक्षण, अधिकार प्रत्यायोजन, कर्मचारी अभिलेख लगायतका विषयमा छलफलसँगै दफावार छलफल सकिएको हो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कसैको अनुहार हेरेर जवरजस्ती गर्ने गरी नभई क्रमबद्ध र नियमअनुसार राजप्रत्राङ्कित प्रथक श्रेणी वा सो सरहका कर्मचारीहरुको नेतृत्व परीक्षण गर्ने गरी विधेयकमा व्यवस्था गरिएको स्पष्ट पार्नु भयो ।
छलफलमा साँसदहरुले स्वविवेकीय नेतृत्व परीक्षणले स्वेच्छाचारी बन्न सक्ने विषयमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संघ र प्रदेश दुबैमा कर्मचारी कितावखानाको व्यवस्था हुनुपर्ने, नेतृत्व परीक्षण कसले गर्ने अझै छलफल हुनुपर्ने, सेवा प्रशासनलाई पारदर्शी बनाउने र कर्मचारीलाई कामप्रति जिम्मेवार बन्न बाध्य पार्ने गरी स्पष्ट व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
समितिले दफावार छलफलमा सहमति भएका विषयका आधारमा प्रतिवेदन तयार पार्न र मिल्न बाँकी विषयहरुको सूची तयार पारेर ल्याउन समान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
विधेयकमाथिको छलफलमा कर्मचारीको दरवन्दी सिर्जना र पदपूर्ति, कर्मचारी ट्रेड युनियन, प्रदेश सरकारका प्रमुख सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था जस्ता विषयहरुमा सहमति जुट्न बाँकी रहेको छ । 
तुलसी सापकोटा, रेडियो नेपाल