पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उखु किसानले चिनी उद्योगबाट करिव रु. ७४ करोड भुक्तानी लिन बाँकी

नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु बिक्री गरेवापतको रकम अहिलेसम्म पनि पाउन सकेका  छैनन् ।
चिनी उद्योगहरुलाई २०७५ सालमा उखु बिक्री गरेको करीब रू. ७० करोड र २०६९ सालमा उखु बिक्री गरेवापत बाँकी रहेको करीब रु. चार करोड उखु किसानहरुले अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिले जनाएको छ । 
इन्दिरा सुगर मिल्सले २०७०  सालमा करीब रु. १६ करोड र त्यसभन्दा अघिल्लो वर्षको करीब रु. चार करोड गरी रू २० करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।
यसैगरी, २०७० सालमा लुम्बिनी चिनी उद्योगको करीब रु. १४ देखि १५ करोड र बागमती  चिनी उद्योगले  करीब रु. ३५ करोड किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ ।
समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार, केही उद्योगले बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम  भुक्तानी गरे पनि अधिकांशको रकम भुक्तानी दिन बाँकी छ ।
तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उहाँ बताउनुहुन्छ । 
सरकारले उखुको प्रतिक्विन्टल मूल्य रू ५३६.५६ पैसा निर्धारण गरेकामा  चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी रू ६५.२८ प्रतिक्विन्टलका दरले यसवर्ष अनुदान दिइने जनाएको छ ।
चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी शुरु गरिसकेको र अहिले प्राथमिकताका आधारमा किसानलाई खरीद पुर्जी सङ्कलन गरी भुक्तानी दिन शुरु गरिसकेको उद्योगहरुको भनाइ छ ।
आफ्नो उद्योगले अहिलेसम्म करीब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापा बताउनुहुन्छ  ।
पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् ।
विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर जमीनमा उखु खेती हुँदै आएको छ । 
रासस