शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो
काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन । कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ ।
बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।