पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय भलिबल टोलीको अन्तिम छनोट

काठमाडौं । एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टोलीको अन्तिम छनोट भएको छ । 

प्रशिक्षक हान एबिङले बिहीबार प्रशिक्षणका क्रममा बाहिरिने खेलाडीलाई टोली छनोटबारे जानकारी दिनुभएको छ । यद्यपि संघले भने आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

यसपटक छनोटमा ३ नयाँ खेलाडी समावेश भएका छन् । राजेन्द्र विष्ट, दुर्गा खड्का र टेकराज अवस्थी पहिलो पटक टोलीमा परेका हुन् । 

यसअघि छनोटमा २५ खेलाडीबाट १८ खेलाडीको नामावली सार्वजनिक गरिएको थियो । १८ जनाबाट राजु शेरचन, दुर्गा महतो, सरन सामरी र द्वारिका थापाले अन्तिम चरणमा स्थान बनाउन सकेनन् ।

नेपाल भलिबल संघको आयोजनमा यही भाद्र २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ । 

लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । 

आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपालले हालसम्म अन्तराष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो । माल्दिभ्समा यसअघि आयोजित प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । 

यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । नेपाली टोलीले विगत डेढ महिनायता प्रशिक्षण गरिरहेको छ ।