पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो, जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो : प्रधानमन्त्री ओली

radionepal

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशमा तीन तहको अधिकार सम्पन्न संघीयता कार्यान्वयनमा रहेको बताउनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार  कार्यान्वयन तथा अनुगमन समितिले  आज  काठमाडौमा आयोजना गरेको सविधान कार्यान्वयन र  प्रशासनिक पुर्नसरचना विषयक राष्ट्रिय कार्यशालाको  उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सिहंदरवारको  अधिकार  प्रदेशमा नभई गाउँमा पु¥याउने  लक्ष्यका साथ संघीयता कार्यन्वयनमा ल्याइएको बताउनुभयो ।
राज्यको  पुर्नसरंचना जस्तै प्रशासनको  पनि पुनर्संरचना जरुरी रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास  भएकाले  समायोजनमा प्रशासन लगायत राज्यका संरचनाहरुलाई केही अप्ठ्यारो भए पनि यसमा नगई सुखै नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितोरुपमा काम गर्नुपर्छ ।”
सङ्घ र प्रदेशका बीचमा अहिले केही विवाद देखिएको जस्तो लागेको  बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाई र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन ।  प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो, जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’’
प्रधानमन्त्री ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गर्नुभयो । 
प्रवीण पोखरेल, रेडियो नेपाल