पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तहको सफलता : सुरक्षित सुत्केरी सङ्ख्या बढ्यो

 दुर्गम बारेकोट गाउँपालिकामा पछिल्लो समय महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नरहने र केही आर्थिक सहयोग पनि प्राप्त हुने भएकाले सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको हो । स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए रु ४०० तथा सुत्केरी भएमा रु एक हजार प्रोत्साहन रकमसमेत दिँदै आएको छ ।

गाउँपालिकाबाट थप रु एक हजार रकम थप गरे पनि दुई वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको सङ्ख्या चारगुणाले बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताउनुभयो । गाउँपालिका सञ्चालनपछि स्वास्थ्य संस्था व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविकालाई महीनाको दुई हजार प्रोत्साहन रकम व्यवस्थापनलगायत कार्यक्रम सञ्चालन गरेपछि यो दर बढेको सिंहले बताउनुभयो ।

पहिले घरमा नै असुरक्षित सुत्केरी हुने गरेका महिला पछिल्लो दुई वर्षयता स्वास्थ्य चेतना जागरुक भएपछि स्वास्थ्य संस्थामा आउने गरेको सिंहले बताउनुभयो । स्वास्थ्य संस्थाभन्दा घरैमा असुरक्षितरुपमा सुत्केरी हुने महिलाको सङ्ख्या दुई वर्षअघि धेरै रहेको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताउनुभयो । स्थानीय सरकार आएपछि महिलाको लागि विशेष कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । पहिला महिला स्वास्थ्य संस्था नआएर घरमा नै असुरक्षित सुत्केरी हुने चलन थियो शाहीले भन्नुभयो ।

भौगोलिक विकटता, चेतनाको अभाव, गरीबी, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नहुनुलगायत कारण महिला असुरक्षित सुत्केरी हुन बाध्य रहेको र कमै महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने गरेको शाहीको भनाइ छ । अहिले बारेकोटमा सडक सञ्जाल जोडियो, गाउँघरमै सहजै सरकारी सेवा उपलब्ध भएका छन् उपाध्यक्ष शाहीले भन्नुभयो । स्वास्थ्य संस्था बाहिर असुरक्षित सुत्केरी हुने अधिकांश महिलाको ज्यान जोखिममा हुने गर्दथ्यो ।

अहिले बारेकोटमा मातृमृत्यु शून्य अवस्थामा रहेको छ । गत आर्थिक वर्ष बारेकोट गाउँपालिकामा ३०० महिलाले स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा पाएका थिए । चालू आवमा ५०६ गर्भवती महिलामा ३४८ जनाले स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिएको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताउनुभयो । पहिले साविकका तीन गाविस सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ गरी चार ठाउँमा स्वास्थ्य संस्था थिए ।

अहिले छ स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ सञ्चालित छन् । चार ठाउँमा प्रसूति केन्द्र सञ्चालनमा आएपछि बारेकोटका महिलाको स्वास्थ्य संस्थामा पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभएको छ । बारेकोट–१ रामीडाँडाकी २२ वर्षीया देवीका नेपाली नियमित गर्भ जाँच नगराउने र व्यथाले चापेपछि मात्र अस्पताल जाने चलन भएको बताउँदै आफूले त्यो चलन तोडेको बताउनुभयो ।

स्वास्थ्य संस्थामा गएपछि केही नगद पाइने, नून, तेल, साबुन, कपडा पाउने भएपछि आफू जस्तै धेरै महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको नेपालीले बताउनुभयो । घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा रहने गरेको भन्दै अस्पताल तथा स्वास्थ्यमा गएर गर्भ जाँच तथा सुत्केरी हुनु महिलाका लागि फाइदाजनक रहेको नेपालीको भनाइ छ । सरकारले स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए रु ४०० तथा सुत्केरी भएमा रु एक हजार प्रोत्साहन रकमसमेत दिँदै आएको छ । जाजरकोटका स्थानीय तहले थप प्रोत्साहन रकम उपलब्ध गराउने गरेपछि घरमा नै असुरक्षित सुत्केरी हुने महिला अहिले अस्पताल तथा स्वास्थ्य संस्थामा आएर स्वास्थ्य सेवा लिने गरेका छन् ।