पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहिलोपटक दोलखामा सुबिसुको अप्टीकल फाइबर, नेटको स्पिड दोब्बर हुने 

radionepal

श्याम खतिवडा/रेडियो नेपाल 
दोलखा । इन्टरनेट प्रदाएक कम्पनी सुबिसु केबल नेट प्रा.ली. ले पुर्बि पहाडी जिल्ला दोलखामा पहिलोपटक अप्टिकल फाइबर बिच्छाएर सेवा प्रवाहा सुरु गरेको छ । 
अनेकन कारणले इन्टरनेटको गति सुस्त हुँदा सेवाग्राहीले व्यहोर्नुपरेको समस्यालाई मध्यनजर गर्दै भरपर्दो सेवा दिन सुबिसुले अप्टिकल फाइबर बिच्छाएको हो । लामो समयदेखि वायरलेस प्रविधिबाट इन्टरनेट प्रदान गर्दै आएको सुबिसुले अप्टिकल फाइबर बिच्छाएपछि नेटको स्पिड दोब्बर भएको सेवाग्राहीहरु बताउछन् । लामो समयदेखि आइसियन दोलखा सँगको सहकार्यमा नेट प्रवाहा गर्दै आएको  सुबिसुले अहिले पनि सोही संस्थासँगको सहकार्यमा फाइबर बिच्छाएर इन्टरनेट प्रदान गरेको हो ।  यसअघि वायरलेस प्रविधिबाट गौरीशंकर केबल टिभि समेत सञ्चालनमा ल्याएको आइसियनले अब भने अप्टिकल  फाइबरको आधारमा एउटै तार बाट नेट सहित क्लिअर टिभी सञ्चालन गर्ने भएको छ । केबल नेट दोलखाकी प्रमुख तुलसी मानन्धरले अब बिगतको जस्तो सुस्त इन्टरनेटको पिडा ब्यहोर्ननपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अप्टिकल फाइबर बिस्तार गरेसँगै साना तिना समस्या नआउने र निरन्तर सेवा प्रवाहा हुने छ । मानन्धरले दोलखा सदरमुकाम चरिकोटस्थित सबै क्षेत्रहरुमा फाइबर जडान भैसकेकाले अब हाई स्पिड इन्टरनेट प्रयोगका लागि सुबिसु प्रयोग गर्न सबै सेवाग्राहीलाई आग्रह समेत गर्नुभएको छ ।  
सुबिसुको यस्तो छ नयाँ ग्राहक योजना 
अत्याधुनिक प्रविधिबाट सेवा प्रवाहा गर्न लागेको सुबिसुले नयाँ ग्राहक योजना समेत ल्याएको छ । चरिकोट स्थित सुबिसु नेट की प्रमुख तुलसी मानन्धरले नयाँ प्रविधि भित्रिएसँगै चरिकोटमा सुबिसु प्रयोगकर्ताको संख्या १ सय भन्दा धेरै थप भएको जानकारी दिनुभयो । उहाँले आफुहरुले नयाँ ग्राहक योजना समेत ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न प्याकेजको नेट प्रयोग गर्न सुबिसुले फरक फरक शुल्क निर्धारण गरेको छ । त्यसरी तोकिएको शुल्क अन्तर्गत १० एमबिपिएस बराबर १ हजार १७ रुपैंयाँ , २० एमबिपिएसको १ हजार ३ सय ८ रुपैंया , ३० को १५ सय ३० रुपैंया र ६० एमबिपिएसको २३ सय २५ रुपैंया लाग्ने जनाइएको छ । उल्लेखित शुल्क कर सहित हुने कम्पनीले जनाएको छ । 
फाइबर बिच्छाएसँगै ग्राहकको संख्यामा दोब्बर वृद्धि हुने सुबिसुको अनुमान छ । अहिले दोलखामा सुबिसुका साँढे ६ सय भन्दा धेरै पुराना ग्राहक छन भने फाइबर आएसँगै थप हुनेको संख्या १ सय नाघिसकेको मानन्धरले बताएकी छन् ।