पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु

देवराज सुवेदी, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ । जस अन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाहरुको सरकारले अधिग्रहण सुरु गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर काठमाडौं लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्के खोलाकोबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ । यो योजना पूरा भए मेलम्चीबाट अहिले लैजान लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।

याङ्ग्री र लार्के खोलाक्षेत्र भित्रका जग्गाधनीहरूलाई मुआब्जा लिनका लागि सूचना समेत जारी गरिएको छ । पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३ सय ७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण गर्न सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी     दिनभयोु । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका– १ को १५२ कित्ता र २ को ५५, ४ को ४४, ८ को ३६, ९ को ६ र वडा नम्बर ६ को ४ कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गर्दै सूचना जारी गरिएको हो । जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ ।
तर सूचना जारी भए पनि स्थानीय मुआब्जा बुझ्न नआएको पाँचपोखारी थाङ्पाल गाउँपालिका– २ का वडाध्यक्ष पासाङ स्याङवोले जनाए । मुआब्जा लिन स्थानीय नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयलाई आग्रह गरेको उनको भनाई छ । 

दोस्रो खण्ड अन्तर्गतको याङ्ग्री र लार्केको पानी लैजानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो । यो आयोजना ३० अर्ब रुपैयाँ खर्च गरेर करिब ४ वर्ष्भित्र काम सक्ने लक्ष्यका सुरु गरिएको छ ।
 
गएको माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजना (पहिलो खण्ड)को काम सुरु गर्न नयाँ ठेक्का आह्वान भइसकेको छ । अब आयोजनाको काम डेढ वर्ष भित्र सक्ने लक्ष्य राखिएको छ । सँगै जग्गा अधिग्रहण लगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न टेन्डरमा जाने योजना बनेको आयोजनाले जनाएको छ ।