पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ह्वीलचेयरमै बसेर स्नात्तोकोत्तर सम्मको अध्ययन 

radionepal

बिश्व अधिकारी

मकवानपुर, १ असार । हेटौंडा उपमहानगरपालिका–३ की देवीमाया घलान शारिरिक रुपले अपाड्ड हुनुहुन्छ । तर, उहाँले कहिल्यै आफ्नो कमजोरीलाई वास्ता गर्नुभएन । जन्मदै दुबै खुट्टा नभएकी घलान अहिले हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नात्तोकोत्तर तह (मास्टर) दोस्रो वर्षमा अध्यन गर्दै हुनुहुन्छ । उहाँ, अपाड्ड सरोकार केन्द्र मकवानपुरकी सचिव तथा  प्रदेश नम्बर ३ का सभा सदस्य ओम बहादुर ग्लानको स्वकिय सचिवका रुपमा पनि क्रियाशील हुनुहुन्छ । 


ह्वीलचेअरमै बसेर स्नात्तोकोत्तर सम्मको अध्यन पुरा गर्न लाग्नुभएकी घलान भन्नुहुन्छ “हत्केलालाई पैताला सम्झेर स्कुल आएको याद अझै ताजै छ ।” हत्केलामा अझै पनि ठेला रहेको देखाउँदै उहाँले भन्नुभयो–“एउटा अड्ड छैन भन्दैमा जिन्दगी सकियो भन्ने बुझ्नु हुँदैन । एउटा चिज गुम्यो भन्दैमा सबै गुमेको हुँदैन, अड्ड नभए पनि दिमाग हुन्छ तर, त्यसका लागि परिवार र समाजको साथ चाहिन्छ ।” अपाड्ड भएकालाई घृणा होईन हौसला दिनुपर्ने उहाँ बताउनुहुन्छ । 


हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित जम्बु चौतारामा बाबु जितबहादुर घलान र आमा जमुना घलानको ६ जना सन्तान मध्ये चौथो सन्तानका रुपमा २०४८ साल पौष ५ गते जन्मनुभएकी घलानले समाजमा अmझै पनि अपाड्ड र सपाड्डलाई हेर्ने दृष्किोण नबदलिएको भन्दै दुखेसो गर्नुभयो । कक्षा ८ सम्म अध्ययन गरेको हेटौंडा–३ कै बाल उज्ज्वल माविले ३०औं बार्षिकोत्सवका अवसरमा गरेको सम्मान कार्यक्रममा उहाँले १४ वर्ष अगाडि आफूले पढ्दाको दिनलाई भक्कानिदै सम्झनुभयो । “अरुलाई ४० देखि ४५ मिनेट लाग्थ्यो । मलाई ३ घण्टा लाग्थ्यो । घर सम्म पुग्ने बाटो थिएन । साहिलो दाजु (मान सिंह घलान) पढ्दा सम्म त सजिलै भएको थियो । उहाँले स्कुल छाडे पछि निकै दुःख पाँए” उहाँ स्मरण गर्नुहुन्छ । पहिले त ह्वीलचेअर पनि थिएन, हात टेकेर आउने गर्थे, अहिले पनि हातमा ठेला छ उहाँले हत्केला देखाउँदै भन्नुभयो । “जीवनमा म यस्तो छु भनेर कहिल्यै हार मानिन् । संघर्ष गर्दै गए । सफल पनि भए” उहाँले भक्कानिदै भन्नुभयो । 


सबैको साथ र सहयोग पाएमा अपाड्डले पनि सपाड्ड सरह काम गर्न सक्ने उहाँ बताउनुहुन्छ । स्कुलका ती दिनहरुलाई सम्झदै उहाँले भन्नुभयो “१४ वर्ष अगाडि जस्तो थियो, अहिले पनि विद्यालयको हालत तेस्तै छ । विद्याललगायत सार्वजनिक स्थानहरुलाई अपाड्डमैत्री बनाउनुपर्छ भन्दै आफ्ना विद्यालयका दिनहरु सम्झदै उहाँ भन्नुहुन्छ, “ट्वाईलेट जानुपर्छ भनेर पानी खादिनथे । विहान पानी खाएर आयो बेलुका घर गएर खान्थे । घरमा शौचालय गएपछि स्कूलबाट फर्केर  बेलुका घरमै शौचालय जान्थे । कहिले काहीँ त सुरुवालमै दिसा पिसाब हुन्थ्यो । यदि अपाड्डमैत्री विद्यालय भएको भए त्यस्तो गर्नु पर्दैन्थ्यो ।” १४ वर्ष पछाडि पनि विद्यालय आउँदा अपाड्डमैत्री वातावरण नदेख्दा दुःख लागेको घलानले बताउनुभयो । 
 पुर्व पश्चिम राज मार्गबाट करिब ५ किलोमिटर भित्र रहेको उहाँको घरसम्म जाने बाटो अहिलेसम्म पनि बनेको छैन । उपमहानगरपालिकाकै एउटा वडामा जानका लागि बाटो नहुनु कत्तिको लाजमर्दो हा,े उहाँले प्रश्न गर्नुभयो । बाटो नभएकै कारण वर्षमा एक चोटी मात्र उहाँ घर जाने गर्नुहुन्छ । “मेरो गाउँमा बाटो पुगेको छैन्, वर्षमा एकचोटी दशैंमा घर जान्छु, त्यो पनि दाईले बोकेर लानुहुन्छ ।’  उहाँले हत्केलाको ठेला र स्कुलका ति दिनको सम्झना मेट्न तथा आफु जस्तै अपाड्ड भएकाले दुःख नपाउन भन्नाका लागि पनि बाटो निर्माण गरेरै छाड्ने बताउनुभयो । 


विद्यालयको वार्षिकोत्सवका अवसरमा सोही विद्यालयबाट २०७० सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभएकी शर्मिला तामाङ पनि सम्मानित हुनुभएको छ । हाल उहाँ काठमाण्डौंको पद्मकन्या क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत हुनुहुन्छ । हेटौंडा–३ बसामाडीस्थित बुबा विरे थोकर र आमा कान्छि थोकरको ३ सन्तान मध्ये दोस्रो सन्तानका रुपमा २०५४ साल चैत्र १८ गते जन्मनुभएकी तामाङ कक्षा २ सम्म सपाड्ड नै हुनुहुन्थ्यो । 


कक्षा दुई सम्म हिँडेरै विद्यालय आएको उहाँको अप्रेसन गर्ने क्रममा डाक्टरको गल्तीले ढाड भन्दा तलको भाग नचल्ने भएको हो । तर उहाँ जीवनसँग हार नमानि संघर्ष गरिरहनुभयो र हाल स्नातक तहको अध्ययन गर्दै हुनुहुन्छ । विद्यालयले समाजमा अहिले पनि अपाड्डलाई हेर्ने दृष्टिकोणमा परिर्वतन नआएको भन्दै अपाड्डगता भएका व्यक्तिले अवसर पाएमा प्रगति गर्न सक्ने तथा अरुका लागि पनि प्रेरण हुने भन्दै वार्षिकोत्सवका अवसरमा सम्मान गरेको जनाएको छ । उहाँहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले टिका लगाएर प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।