पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिनिधिसभामा बजेट अन्तर्गत मन्त्रालयगत छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपंक्षी मन्त्रालयका  विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ  ।  
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका राजेन्द्रकुमार के.सी. ले वन तथा वातावरण मन्त्रालयका शीर्षकमा खर्च कटौतीको प्रस्ताव गर्दै सम्पत्तिको दुरुपयोग गर्नेगरी कतिपय शीर्षकमा बढी बजेट विनियोजन भएको बताउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले तीनै मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै वृक्षरोपण, काठमाडौँ उपत्यकाको जलाधार क्षेत्रको संरक्षण, वातावरण संरक्षण जस्ता विषयलाई बजेटले प्राथमिकता नदिएको विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले पनि तीनै मन्त्रालय शीर्षकको खर्च रकममा कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेटले महिला हिंसा नियन्त्रण र  यातना पीडितलाई न्याय दिने विषयलाई समेट्न नसकेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्माले कृषि मन्त्रालय शीर्षकको खर्च रकममा कटौतीको प्रस्ताव प्रस्तुत गर्दै कृषिप्रधान नेपालको कृषि उत्पादनको बढावा, आयात प्रतिस्थापन जस्ता विषयलाई बजेटले समेट्न नसकेको बताउनुभयो ।
नेपाली काँग्रेसकै उमा रेग्मीले महिला मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै महिला तथा ज्येष्ठ नागरिकका विषयमा बजेटले प्रभावकारी सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो ।
मन्त्रालयगत छलफलमा भाग लिँदै सत्तापक्षीय दल नेकपाका सांसद खगराज अधिकारीले मुलुकबाट ठूलो मात्रामा युवा शक्ति विदेशीनु देशको प्रमुख चुनौती रहेको अवस्थामा कृषि प्रणालीलाई आधुनिकीकरण र यान्त्रीकरण गरी युवालाई कृषिमा आकर्षित गर्न बजेटले यथेष्ट ध्यान दिनु प्रशंसनीय भएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले नयाँ बजेटले सबै खालको  विकासका योजनाहरुलाई प्रचारमुखी मात्र बनाएको आरोप लगाउँदै बजेटमा उत्पादन र उत्पादनशील जनशक्ति बढाउने खालका कुनै पनि कार्यक्रमहरु नपरेको भन्दै आलोचना गर्नुभयो । 
यसैगरी, संघीय समाजवादी फोरमका सांसद उमाशंकर अर्गरियाले सरकारले धान र गहुँ जस्ता बालीलाई अनुदानको व्यवस्था गरी कृषिको उत्पादकत्व बृद्धि गर्ने गरी बजेट विनियोजन हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो ।
राजपाका सांसद चन्द्रकान्त चौधरीले नेपालमा रहेका खनिजका उत्खनन्का निम्ति बजेट विनियोजन नभएको गुनासो गर्दै खनिजको उत्खखन्विना मुलुकमा सम्बृद्धि हासिल गर्न कठिनाई हुने विचार व्यक्त गर्नुभयो ।
मन्त्रालयगत छलफलमा सत्तापक्षीय दलका सांसदहरुले गाउँगाउँमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने, वन संरक्षणका योजना र कृषि पकेट क्षेत्रको विकास जस्ता उदाहरणीय कार्यक्रम आउनु सकारात्मक भएको बताउनुभयो  ।
प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलका सांसदहरुले चुरे दोहन रोक्न, वातावरण संरक्षण गर्न, भूक्षय रोक्न र बनसम्पदा संरक्षण तथा कृषि विकासका लागि पर्याप्त बजेटमा पर्याप्ट रकम विनियोजन नगरिएको बताउनुभयो । 
तुलसी सापकोटा, रेडियो नेपाल