पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिडिया विधेयक परिमार्जन गरेर अगाडि बढ्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयक परिमार्जन गरेर अघि बढ्ने बताउनुभएको छ ।
प्रेस सङ्गठन, चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मिडिया विधेयक पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ भन्नुभयो ।
उहाँले मानव अधिकार आयोग सम्वन्धी विधेयक र गुठी विधेयक अध्ययन गरी परिमार्जन गरिने स्पष्ट गर्नुभयो ।
सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “जति गृहकार्य भएर विधेयक आउनु पथ्र्याे, केही कमी रहेको देखियो । पक्कै पनि सरकार र पार्टी यसमा सतर्क भएका छन् ।”
उहाँले आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने बताउनुभयो । 
अध्यक्ष प्रचण्डले लोक सेवा आयोगले खुलाएको विज्ञापन सम्वन्धमा राज्य ब्यवस्था समितिले निर्णय गरिसकेकाले प्रधानमन्त्री स्वदेश फर्कनुभएपछि पार्टीमा छलफल गरेर आधिकारिक निर्णय लिने जानकारी दिनुभयो । 
अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले चितवनमा बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने र सोही अनुसार सरकारले रङ्गशालालाई प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सह–इञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोग लगायतको एकैसाथ प्याकेजमा टुङ्गो लाग्ने बताउनुभयो ।
अर्को एक प्रश्नमा अध्यक्ष प्रचण्डले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि यहीँ राख्ने कि भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । 
राजु थापा, रेडियो नेपाल र रासस