पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिडिया काउन्सिल विधेयक फिर्ता नहुने : मन्त्री बाँस्कोटा

नवीन गिरी ।
नेपालगञ्ज, जेठ २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले मिडिया काउन्सिल विधेयक फिर्ता नहुने स्पष्ट पार्नुभएको छ । 
नेपाल पत्रकार महासंघ बाँके शाखाले आइतबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा  मन्त्री बास्कोटाले नेपाली मिडिया र पत्रकारहरुको हितमा रहेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने स्पष्ट पार्नुभयो । उहाँले, विधेयकलाई अझ उत्कृष्ट र सर्वस्वीकार्य बनाउन सदनमा आवश्यक छलफल गर्न सकिने बताउँदै सडकमा आन्दोलन गरेर कुनै अर्थ नहुने बताउनुभयो । 
सरकारका प्रबक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले सरकार विकास निर्माणको काममा दत्तचित्त भएर लागेको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले सबैलाई सम्बोधन गरेको बताउँदै उहाँले सामाजिक सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको कुरा बजेटले प्रष्ट पारेको उल्लेख गर्नुभयो । अबको यात्रा आर्थिक समृद्धि र विकासको भएकाले सरकारले ठूला परियोजनाहरुलाई प्राथमिकता दिएर काम गरिरहेको मन्त्री बास्कोटाले बताउनुभयो ।