पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चार वर्षदेखि पीडामा राउटे युवा

दुल्लु-विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महीना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो । आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो ।

कपिललाई काठमाडौँको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । आगोले पाखुरा, ढाड, पेटसहित शरीर जलेका उनलाई एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि मात्रै काठमाडौँ लगिएको थियो । त्यसबेला उनको घाउ पाकेर सङ्क्रमण फैलिएको थियो । राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा कपिललाई उपचारका लागि काठमाडाँै लैजानुअघि समुदायको झारफुक र जडीबुटी नै प्रयोग गरिएको थियो ।

समयमै उपचार नपाएपछि घाउ बल्झिएर कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए । काठमाडौँमा उपचार गरेर फर्किएका कपिलको पुनः घाउ बल्झिएपछि दुई वर्षअघि दैलेख अस्पतालमा उपचार गराएका थिए । त्यसबेला दैलेख अस्पतालले निःशुल्क स्वस्थ्य परीक्षण र निःशुल्क औषधि उपलब्ध गराएको थियो । काठमाडाँै र दैलेखको भैरवी गाउँपालिका–५ लैनचौरमा बस्ती रहँदा दैलेख अस्पतालमा उपचार गराएका राउटे युवा कपिलको घाउ अझै निको हुनसकेको छैन । परम्परागत औषधि उपचारलाई मुख्य ठान्दै आएका राउटे समुदाय पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको सङ्केत देखिन थालेको छ तर उनको घाउ निको हुनसकेको छैन । उनको घाउ झनै बल्झिदै गएको छ ।

कपिलको घाउ बढ्दै गएको छ । घाउकै कारण कुनै पनि काम गर्न नसकेको कपिलले बताए ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोबास गर्दै आएका राउटे समुदाय गत साता मात्रै दैलेखको गुराँस गाउँपालिकामा बस्ती सरेका छन् । हाल राउटे समुदायको सङ्ख्या १४६ छ ।