आयोगले सोमबार चुनाव चिन्ह प्रदान गर्दै
काठमाडौँ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा भोलि दिउँसो २ बजेसम्मको समय दिइएको छ ।
निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य मतदाता छन् ।