पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गौचनको हत्यामा संलग्न पाँचजना प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीले  पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित  बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापागरी आठजना अझै फरार रहेको जानकारी दिनुभयो ।

फरार रहेका मध्ये रोशन बुढाथोकी र अजय थापा नेपाली सेनाका भगौडा सिपाही रहेको अनुसन्धानबाट खुलेको छ । 

त्यस्तै पक्राउ परेका प्रकाश बुढाथोकी घटनाका योजनाकार समिरमानसिंह बस्नेतका आफन्त रहेको र उनले नै नेपाल बाहिर रहेका बस्नेतको निर्देशनमा नेपालभित्र काम गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरीले नायब प्रहरी महानिरीक्षक गणेश केसीको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । 

सो समूहले गौचनसँग रकम माग गरेको र नपाएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको नायब महानिरीक्षक केसीले जानकारी दिनुभयो ।

नायब महानिरीक्षक केसीले सबै निर्माण व्यवसायीबाट एकमुष्ठ रकम जम्मा गरेर बुझाउन पटक–पटक निर्माण व्यवसायी गौचनलाई दबाब दिइएको रहेछ र त्यो नमानेपछि गौचनको हत्या गरेको पाइएको वताउनुभयो ।