पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिनुभयो ।

प्रवक्ता आचार्यले मन्त्रालयले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको र त्यसको अध्ययन भईरहेको बताउनुभयो ।

युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेका छन् । 

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ ।

युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । 

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ ।