पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीको पश्चिम क्षेत्रको भ्रमण २८ गतेबाट

ललितपुर । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्नुहुने भएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान  गर्ने जानकारी दिनुभयो । 

सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली काँग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवा २९ गते धनगढी जाने कार्यक्रम रहेको छ । 

सोही दिन उहाँले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसंग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा जाने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । 

जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली काँग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले दार्चुला बैतडी बझाङ्ग बाजुरा त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।