पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहिलो खेलमा नेपाल पराजित 

काठमाडौं । मलेसियामा जारी आई सी सी अण्डर १९ चौथो यूथ यशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको किरारा ओभलमा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

वर्षाका कारण ४३ ओभरमा घटाईएको खेलमा पहिलो ब्याटिङ्ग गरेको नेपालले ४०.१ ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको  थियो ।

नेपालका लागि भिन सार्कीले सर्वाधिक ४४, रोहित कुमार पौडेलले ४० र आशिफ शेखले ३० रन बनाएका थिए ।

बाँकी ब्याट्स् म्यानहरुले खासै रनको योगदान गर्न सकेनन् ।

बंगलादेशले १ सय ६८ रनको विजयी लक्ष्य ४९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टाएको थियो ।

नेपालका बलर सन्दीप लामिछाने र सन्दीप ऐरिले २–२ तथा अनिल साह, कप्तान दिपेन्द्र सिंह ऐरी र किसोर महतोले १–१ विकेट लिएका थिए ।

नेपाली टोलीले प्रतियोगिता भन्दा अघि केही दिन बंगलादेशमै अभ्यास गरेको थियो ।

बंगलादेशमा रहँदा नेपाली र बंगलादेशको अण्डर १९ टोलीबीच भएका ३ वटा खेलमा नेपालले १ मा जित र २ मा हार व्यहोरेको थियो ।

समूह ए मा रहेको नेपालको अर्को खेल आईतबार भारतसँग हुनेछ ।

यसैगरी, नेपालले लिगको तेस्रो तथा अन्तिम खेल आयोजक मलेसियासँग मंगलबार खेल्ने छ ।

नेपालकै समूहको शुक्रबार भएको पहिलो खेलमा भारतले आयोजक मलेसियालाई २ सय २ रनले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत समूह बी मा श्रीलङ्का, पाकिस्तान, अफ्गानिस्तान र संयुक्त अरब ईमिरेट्स् यु ए ई रहेका छन् ।

समूह बी को शुक्रबार भएको पहिलो खेलमा श्रीलङ्काले यु ए ई लाई ७ विकेट र अफ्गानिस्तानले पनि पाकिस्तानलाई ७ विकेट ले नै पराजित गरेका थिए ।

दुवै समूहका समूह विजेता र उप विजेता सेमिफाईनलमा प्रवेश गर्ने छन् ।