पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्रीको आग्रह  

काठमाडौं । उद्योगमन्त्री सुनिल बहादुर थापाले नेपालमा लगानीका लागि खुल्ला नभएका प्रयाप्त क्षेत्र रहेकोले त्यस्ता क्षेत्रमा लगानी गर्न सिंगापुरमा रहेका जापानी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहेको सिंगापुरमा रही उद्योग व्यवसाय गरेका जापानी उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुको टोलीसँग शुक्रबार उद्योग मन्त्रालयमा भएको छलफलमा उद्योग  मन्त्री थापाले लगानी गरी प्रतिफल पाउनेमा नेपाल एशियाका अन्य मुलुकहरु भन्दा धेरै राम्रो रहेको र लगानीका लागि खुल्ला नभएका क्षेत्र र लगानीका प्रयाप्त क्षेत्र रहेकोले पनि त्यस्ता क्षेत्रमा लगानी गरी फाइदा लिन आग्रह गर्नुभयो ।

छलफलमा जापानी उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुले एशियाका भारत, बंगलादेश, म्यानमार लगायतका देशहरुमा जस्तै सुविधाहरु नेपालमा पनि रहेकोले लगानीका लागि नेपालमा आकर्षित गर्ने विषय के हुन सक्छन भनि जिज्ञासा राख्नुभएको थियो ।

जिज्ञासाको जवाफमा उद्योग मन्त्री थापाले अन्य मुलुकहरुमा भन्दा नेपालमा लगानी गर्दा बढी प्रतिफल पाइने, सस्तो कामदार रहेको, निर्यातजनक उद्योग स्थापनाको लागि जग्गा किन्नु नपर्ने, अनुपम प्राकृतिक सम्पदा र उत्पादित वस्तुको लागि भारत र चीन जस्ता ठूला मुलुकहरुको बजार रहेको जस्ता सकारात्मक पक्ष रहेको बताउनुभएको थियो । 

छलफलमा उद्योग मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले नेपालमा लगानीका क्षेत्र, अवसर तथा एशियाका अन्य मुलुकहरुको तुलनामा नेपालमा लगानीका लागि रहेका नयाँ अवसरको बारेमा जानकारी गराउनुभएको थियो ।