पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तीन हजारको आँखा परीक्षण

 

चितवन, २२ कात्तिक । दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ यहाँ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ । अभियानले जिल्लाका आठ ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी त्यस क्षेत्रका सर्वसाधारणको आँखा परीक्षण गरेको हो । सपोर्ट एण्ड कियर लागुऔषध पुनःस्थापना केन्द्र भरतपुरले जर्मनी समाजसेवीले त्यहाँ संकलन गरेको रकमको सहयोगबाट शिविरको आयोजना गरेको हो । 

दृष्टिबिनाको सृष्टि अपूरो छ भन्ने मूलमन्त्रका साथ संस्थाले चितवनको राप्ती नगरपालिकाको एक ठाउँमा, रत्ननगर नगरपालिकाको तीन ठाउँमा, भरतपुर महानगरको एक ठाउँमा, कालिका नगरपालिकाको दुई ठाउँमा र माडीको एक ठाउँमा शिविरको आयोजना गरेको केन्द्रका प्रमुख राजबन्दु गौतमले बताउनुभयो । ती शिविरहरुमा बालबालिका र वृद्धवृद्धाहरुको सहभागिता बढिरहेको उहाँले बताउनुभयो । 

शिविरमा नेशनल आँखा अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो । बिरामीका लागि आवश्यक चस्मा तथा औषधि जर्मनबाट नै पठाइएको थियो । शिविरमा सेवा लिन आउने बिरामीलाई औषधि चस्मादेखि शल्यक्रियासमेत निःशुल्क रुपमा प्रदान गरिएको उहाँले बताउनुभयो । 

सो क्रममा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको र दुई हजार चस्मा वितरण गरिएको गौतमले बताउनुभयो । शिविर निकै प्रभावकारी भएको र नेपालमा काम गर्न निकै आनन्दको अनुभूति गरेको शिविरमा सहभागी जर्मनी समाजसेवीको टोली प्रमुख ब्रिगेट ब्रगरले बताउनुभयो । आगामी दिनमा पनि सामाजिक काम गर्ने आफूहरुको चाहना रहेको उहाँको भनाइ थियो । कात्तिक ६ गते रत्ननगरको जिरौनाबाट शुरुवात गरिएको शिविर २१ गते सिद्धिमा गरेर समापन गरिएको थियो ।