पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उद्योग मन्त्रालयले लघुउद्यमीको लगत अनलाइनमार्फत अद्यावधिक गर्ने

काठमाडौं । उद्योग मन्त्रालयले देशभरका लघुउद्यमीको लगत अनलाइनमार्फत अद्यावधिक गर्ने भएको छ । 

दाताको सहयोगमा करिब १० वर्ष सञ्चालित लघुउद्यम विकास कार्यक्रम र ५ वर्ष सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट उद्यमी बनेका देशभरका १ लाख ५० हजारभन्दा बढी उद्यमीको लगत अनलाइनमार्फत मन्त्रालयले अद्यावधिक गर्न लागेको उद्योग सचिव यामकुमारी खतिवडाले जानकारी दिनुभयो । 

लघुउद्यमीको विस्तृत विवरण अद्यावधिक गर्ने तयारी स्वरुप उद्योग मन्त्रालय, उद्योग विभाग र गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको देशभर रहेका ८ वटा क्षेत्रीय कार्यालयका सूचना तथा प्रविधि शाखाका अधिकारीलाई हेटौंडामा शुरु भएको ३ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन गर्नुहुँदै उद्योग सचिव खतिवडाले देशैभर विस्तार भएको लघुउद्यम विकास कार्यक्रमलाई परिवर्तित राज्य व्यवस्थाअनुसार स्थापित गर्न स्थानीय तहमा हस्तान्तरण गर्नुअघि लघुउद्यमीको विस्तृत विवरण अनलाइनमार्फत अद्यावधिक गरिने जानकारी दिनुभयो ।  

विगत १५ वर्षदेखि सञ्चालित लघुउद्यम विकास कार्यक्रम पछिल्लो ५ वर्षदेखि गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको रुपमा सञ्चालित हुदै आएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम पनि पछिल्लो व्यवस्थाअनुसार स्थानीय सरकारमा गाभिने भएको उद्योग मन्त्रालयले जनाएको छ । 

लघुउद्यम विकास कार्यक्रममार्फत सरकारले पछिल्लो डेढ दशकमा ३ देखि ६ महिनाको आवधिक सीपमूलक तालिम प्रदान गरी उद्यमशीलता विकासका लागि सहयोग गर्दै आएको छ । 

ठूला उद्योगलाई सरकारले औद्योगिक वातावरण मात्रै बनाए पर्याप्त हुने तर, लघु उद्यम विकासका लागि सरकारले नै लगानी गरेर प्रवद्र्धनात्मक, क्षमता तथा सीप विकास र प्रविधिको विकासमा सहयोग गर्नुपर्ने कार्यक्रमका सहभागि वक्ताहरुले बताउनुभयो ।